नेपाली सेनामा करिव ३७ वर्ष कार्यरत रहेर उपरथी दर्जामा अवकास प्राप्त हुनु भएका डा आशबहादुर तामाङ सैनिक जिवनमा लामो समय विपद् र यसको व्यवस्थापनमा सक्रिय रहनु भएको थियो । उहाँसित यस वर्षको मनसुन, मनसुनको प्रकोप, विपद् व्यवस्थापन र सुरक्षासम्बन्धी अनुभवहरुलाई केन्द्रबिन्दु बनाएर गरिएको कुराकानीको संपादित अंश ।
यस वर्षको मनसुनी प्रकोप, बेमौसमी वर्षा बारे यहाँको अनुभव के छ ?
मैले नेपाली सेनामा कार्यरत रहँदा मनसुनजन्य प्रकोपमा २०७२ सालको महाभूकम्पलगायत विभिन्न वर्षहरुमा भएका प्रकोप र त्यसमा कार्यसम्पादनका प्रत्यक्ष तथा परोक्ष सहभागी भएर कार्यसम्पादन गर्ने अवसर पाएँ । म नेपाली सेनाको पूर्वी पृतनापति, नम्बर २१ बाहिनीपति, गण तथा गुल्मपति हुँदा धेरै अनुभव संगालेको छु ।
प्रत्येक वर्षझैं यो वर्ष पनि मनसुन चाडै सुरु भएर ढिलो असोज महिनामा बाहिरिएको थियो । असोज १७ देखि १९ गते भारी वर्ष र प्रकोप निम्त्याएको थियो । यस वर्ष मनसुन यामको सुरुमा रसुवा तिब्बततर्फ हिमताल फुटेर अप्रत्यासित बाढी र लेदो बगेर रसुवागढीमा रहेको सुख्खा बन्दरगाह, जलविद्युत, आयोजनासाथै धेरै धनजनको क्षति पुर्याएको सबैमा जानकारी नै छ ।
र, दशैलगत्तै काठमाडौंलगायत देशका खासगरी पूर्वी भागमा वर्षाले बितण्डा मच्चाएको थियो । इलाममा आरीघोप्टे पानी पर्नुका साथै गएको बाढी पहिरोमा परेर ३७ जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् । कयौं घाइते भए । मेचीराजमार्ग अवरुद्ध भएको थियो । इलामको राजदुवालीमा भएको ठूलो पहिरोले बाटोमा नराम्रो क्षति पुर्याएको थियो ।
यसैगरी मनसुन बाहिरिएपछि पनि बंगालको खाडीमा बायुको प्रभावले देशैभरी कात्तिक ११ देखि १५ गतेसम्म बेमौसमी वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको थियो । सुरक्षाकर्मी तथा स्थानीय प्रशासन, स्थानीय बासिन्दाको सहयोगमा बाढी पहिरो तथा यसले निम्त्याएका दुर्घटना भएका स्थानमा सर्च एण्ड रेस्क्यु अप्रेसन प्रभावकारीताका साथ भएको देखिन्छ ।
पछिल्लो समय भएको हिमपातका कारण अलपत्र परेका र हराएका पर्यटक तथा पदयात्रीलाई मनाङ, मुस्ताङ तथा खुम्बु क्षेत्रबाट उद्धार गरिएको छ । यस पटक सरकारी तवरबाट समेत भारी वर्षाको समयमा विशेष सतर्कता र विपद् व्यवस्थापनमा प्रभावकारी कदम चालेको पाइयो । जस्तै, प्रभावित हुन सक्ने क्षेत्रमा रेड अलर्ट जारी, सचेतना कार्यक्रम, यात्रा गर्न रोक साथै आवश्यक विदासमेत दिएर पूर्व सतर्कता र दशैतिहारजस्तो चाडको अवसरमा अवरुद्ध राजमार्ग र बाटो खुलाउन विशेष पहल भएको देखिन्छ ।
मनसुनको प्रकृति हेर्दा विगत केही वर्षमा परिवर्तन अर्थात परक केही छ कि ?
अवस्य पनि फरक पाउन सकिन्छ । मनसुनजन्य प्रकोपमा फरकफरक अनुभूति सबैले महसुस गरेका छौं । मौसम तथा विज्ञान विभागले समेत पूर्व सूचना दिएर सतर्कता अपनाउन मद्धत गरेको पाइन्छ । विगत २ देखि ३ वर्षको मनसुनजन्य प्रकोप दाँज्ने हो भने पनि खास गरी जलवायु परिवर्तनले गर्दा मौसममा भएको गढबढी र प्रदुषण प्रष्ट देख्न सकिन्छ ।
मेलम्चीको बाढी, सोलुखम्बुको थोमेमा हिउँ पहिरोबाट आएको बाढी, संखुवासभा र पाँचथरमा हेवाखोलाले मच्चाएको बितण्डा, मनाङ र मुस्ताङको कागबेनीमा आएको बाढीमात्र होइन यस वर्षा यामको सुरुमा रसुवामा भएको अप्रत्यासित लेदोसहित बाढीलाई उदाहरणको रुपमा लिन सकिन्छ ।
त्यसैगरी यस वर्ष इलाममा आरीघोप्टे पानी परेर बाढी र पहिरोले अत्याधिक धनजनको क्षति पुर्यायो । पोहोर असोज १० र ११ गते र यस वर्ष असोज १७ र १८ गते परेको अविरल वर्षाले काठमाडौं उपत्यकामा समेत डुवानले तहसनहस पारेको थियो । त्यसैगरी यस वर्ष तराईमा धान खेतीको समयमा परेको खडेरी र धान थन्क्याउने बेला कात्तिक १२ देखि १५ गतेसम्मको बेमौसमी वर्षाले कृषि क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको देखिन्छ ।
मनसुन सकिना साथ कात्तिकमा परेको झरीले काठमाडौंवासीले बेग्लै जाडोको अनुभव गरेको पाइन्छ । यसरी गत केही वर्षको मनसुनजन्य प्रकोप हेर्दा हामी यस सिजनमा थप सतर्कता र तयारी गरी आगामी वर्षमा थप धनजनको क्षति हुनबाट जोगाउन सकिनेछ ।
यस्तो मनसुनी प्रकोप तथा बेमौसमी वर्षाको कारण के हुन सक्छ ?
यसको सटिक र उचित जवाफ मौसम र वातावरणविद् एवं जल तथा मौसम विज्ञान विभागबाट अझ आउन सक्छ । तर, मेरो अनुभवका आधारमा केही बुंदामा उल्लेख गर्न सकिन्छ ।
–जलवायु परिवर्तनको असर यसको मुख्य कारण हुन सक्छ भने अन्य कारणहरुमा नेपालको भू–वनोट, हिँउ पग्लिँदै जानु, नयाँ हिमताल सिर्जना हुनु र अप्रत्यासित विस्फोट हुनु । पैरोसँगै बाढी गएर नदी, खोला किनारमा बस्ती डुब्नु, प्रकृतिको दोहन, जलविद्युत तथा सडक र अन्य भौतिक निर्माण र विकास गर्दा वातावरणीय पक्षलाई राम्रो अध्ययन नगरी अव्यवस्थित तरिकाले सडक, बाटो आदि निर्माण गर्नु हुन सक्छन् ।
–नेपाल भूकम्पका लागि प्रोन जोन मानिन्छ । समयसमयमा गइरहने भूकम्पले समेत जमिनको संरचनालाई खल्बल्याइरहको छ । नदी खोलाको प्राकृतिक वहाव हुने स्थानमा मिच्ने र नदीको कारणले पानीको बहाव रोकिएर डुवान भएको पाइन्छ ।

मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार तथा सम्बन्धित पक्षले खेलेको भूमिका कस्तो छ ?
विगत वर्षहरुमा विपद् व्यवस्थापनमा सरकारी संयन्त्रहरुले विशेष तदरुकता देखाएता पनि अझ पर्याप्त भने देखिन्न ।
किनभने कुन प्रकृतिको, कतिखेर, मनसुनजन्य एवं अन्य प्रकोप कहाँ र कहिले हुन्छ ? किटान गरेर भन्ने गाह्रो पर्छ । तर, प्रत्येक वर्ष मनसुनको समयमा केही न केही धनजनको क्षति पुर्याएको छ । गत वर्ष झै यस वर्ष पनि सयौं मानिसको ज्यानसिहत अर्बाैंको क्षति भएको छ । तर, यस वर्ष असोज १६ देखि १८ गते काठमाडौंलगायत खास गरी देशको पूर्वी क्षेत्र त्यसमा पनि इलाम जिल्लामा भएको क्षति अति दुखदायी रह्यो । तर, सरकारले गरेको पूर्व तयारी, यात्रामा रोक लगाएर संवेदनशील समयमा विदासमेत दिएर रेड अलर्ट जारी गरेबाट क्षति न्यूनिकरण भएको देखिन्छ ।
नेपाली सेनालगायत सुुरक्षाकर्मी, स्थानीय प्रशासनले यसैवर्ष रसुवा, इलाम, पाँचथर र अन्य जिल्लामा गरेको उद्धार कार्य, अवरुद्ध सडकमार्ग समयमै खुलाउन गरेको प्रयास र भर्खरै बेमौसमी वर्षाको कारण मनाङ, मुस्ताङ र खुम्बु क्षेत्रमा अलपत्र र हराएका सयौं पर्यटक तथा पदयात्रीको उद्धार एक सह्रानीय कार्य मान्न सकिन्छ ।
तपाईँ विपद् व्यवस्थापन कार्यलाई अझ प्रभावकारी बनाउन के के सुझाव दिन चाहनु हुन्छ ?
विपद् व्यवस्थापनसम्बन्धी देशकै रणनीति तयार गरी गृहमन्त्रालयअन्तर्गतका सबै संयन्त्र तथा अन्य सरोकारवाला संयन्त्रलाई पूर्व तयारी, साधन तथा श्रोत सम्पन्न र आवश्यक संयुक्त अभ्याससमेत गरी २४ सैं घण्टा तयारी हालतमा राख्नु पर्छ । खासगरी मनुसनजन्य विपद्को समयमा रेड अलर्टसमेत जारी गरी थप तयारी सतर्कता र प्रभावकारी कार्यन्वयन गरिनु पर्छ । जसको लागि स्थान विशेषमै आवश्यक उद्धार सामाग्री दक्ष जनशक्तिसहित तैनाथ गरिनु उचित हुन्छ ।
जलवायु परिवर्तनबाट हुने असरलाई नेपालको परिप्रेक्षमा परेको गम्भीर प्रभाव र यसको समाधानको उपाय अन्तराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय रुपमा अनुसन्धान, बहस, योजना तथा कार्यान्वयनमा थप कडा कदम चाल्नु पर्छ ।
हिमताल, पहिरो, बाँध (जस्तै कोशीबाँध, जलविद्युतका बाँध) हरुको जोखिम पहिचान गरी सुरक्षित रहने योजना कार्यान्वयन गरिनु पर्छ ।
प्राकृतिक श्रोत तथा साधनको दोहन रोक्ने, आवश्यक वृक्षारोपण, बाँध निर्माणसाथै अव्यवस्थित विकास निर्माण र पर्यावरणीय असरको राम्रो अध्ययन गरेरमात्र विकास तथा निर्माण कार्य गर्नतर्फ सबै लाग्नु पर्छ ।
प्रकोप नियन्त्रण, रोकथाम, तथा व्यवस्थापन गर्न whole of government approach र whole of nation approach अपनाउने अर्थात सरकारी, गैरसरकारी तथा सबैको unified effort लगाउने संयन्त्र निर्माण र रिहर्सलसमेत गर्ने । जस्तो सुरक्षा निकायलगायत प्रशासन स्थानीय एवं पूर्व सुरक्षाकर्मी आदि ।
अति संवेदनशील स्थानको विशेष सुरक्षा व्यवस्था जिम्मेवारीपूर्वक अपनाउने । आवश्यक अनुसार सुरक्षा घेरा, आगलागीको लागि पानी, दमकल तथा नदी तथा ताल किनारमा मोटरबोट, गोताखोर तथा दक्ष जनशक्ति तैनाथ गरिनु पर्छ ।
अन्य सुझावहरु केही छन् ?
यस प्रकारका प्रकोपहरुले देशको समष्टिगत सुरक्षामा समेत प्रभाव पार्दछन् । विपद्ले जहिले पनि जनधनको क्षति गराएर दुखद् क्षण निम्त्याउने भएकोले व्यक्ति, समुह र देश नै यसबाट सदा सजग रही आवश्यक पूर्व तयारी गर्ने, विपद्को दौरान प्रभावकारी सर्च एवम् रेस्क्यु गर्ने र विपद्पछि राहत वितरण, पुनस्र्थापनाको कार्य पारदर्शी, जवाफदेही र व्यवसायिक ढंगले निर्वाह गरिनु पर्छ । यस्ता काममा सरकार तथा सर्वसाधारण सबैको साझा प्रयास हुुनुपर्छ । जलवायु परिवर्तन, प्रदूषण र अब हुने तथा हुनसक्ने विभिन्न प्रकोपलाई मध्यनजरगरी कोरोना महामारीको समयमा रचिएको यो गति उल्लेख गर्न चाहन्छु ।
प्रकृतिलाई जितेर होइन, च्यापेर सृष्टि पालौं
हामी एउटै डुंगामा छौ, प्वाल मिलेर टालौं ।
तँछाड मछाड धपेडी गरी कस्लाई जित्नु छ र ?
कति दूषित बनाउँछौं भो, भावी सन्ततीको घर ।।
प्रतिक्रिया दिनुहोस्