डा. बद्रि रिजाल अहिले राष्ट्रिय ट्रमा सेन्टर प्रमुख हुनुहुन्छ । प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट पदमा कार्यरत उहाँ प्रमुख अर्थोपेडिक्स सर्जन भनेर चिनिनु हुन्छ । नेपाल चिकित्सक संघको वरिष्ठ उपाध्यक्ष, चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानको सह प्राध्यायापकको रुपमा कार्यरत उहाँ पश्चिम अमुवा– ४, रुपन्देहीमा बुबा गोबिन्द र आमा द्रोणकुमारी रिजालबाट जन्मनु भएको हो । उहाँ हाल राजधानीको टोखा–७ मा बस्दै आउनु भएको छ । उहाँसित ट्रमा सेन्टर र यसले दिने सेवा सुविधाका विषयमा गरिएको कुराकानीको संपादित अंश ।
हाम्रो देशमा ट्रमा सेन्टरको अवधारणा कसरी आयो ?
विश्वमा सबैभन्दा पहिले संयुक्त राज्य अमेरिकामा सन् १९८० तिर ट्रमा (आघात) उपचारको लागि छुट्टै अस्पतालको स्थापना भएसँगै ट्रमा अस्पतालको अवधारणा विकास भएको पाइन्छ ।
कम्तिमा १० लाख जनसंख्या भएको शहरमा सुविधा सम्पन्न एक आधुनिक ट्रमा अस्पताल हुनु पर्ने विश्वस्वास्थ्य संगठनको अवधारणासँगै नेपालमा पनि प्राकृतिक विपत्ति, प्राकृतिक प्रकोप, आकष्मिक दुर्घटना, हिंसा वा यस्तै अन्य कारणले घाइते भएका विरामीलाई उपचार गरी सामान्य अवस्थामा फर्काउने÷पुर्नस्थापना गर्ने मुख्य उद्देश्यराखेर दक्षिण एसियामै नमुना सेन्टर बनाउने सोचका साथ नेपालका तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र भारतका तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालले संयुक्त रुपमा २०५४ साल जेठ २४ गते शिलान्यास गर्नु भएको थियो ।
सिलान्यास भएको करिव १७ वर्षपछि २०७१ मंसिर ९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालका तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालालाई हस्तान्तरण गरेपछि औपचारिकरुपमा यस सेन्टरको संचालनमा आएको हो ।

ट्रमा सेन्टरको पूर्वाधार र जनशक्ति कस्तो छ ?
यो सेन्टर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेको छ । सेन्टरका लागि २०६९ कार्तिक १६ देखि नै निर्देशक नियुक्ति गरिए पनि जनशक्तिलगायत अन्य आवश्यक तयारी नहुँदा पूर्ण रुपले सञ्चालनमा आउन सकेको थिएन । २०७२ सालको भूकम्पपछि आकस्मिक ट्रमा उपचारका लागि अपरेशनसहित पूर्णरुपले संचालनमा आएको हो ।
ट्रमा सेन्टर नेपालको एक प्रमुख स्वास्थ्य संस्था हो । यसमा गम्भीर घाइते र आपतकालीन बिरामीहरूको उपचारमा विशेषज्ञता रहेको छ ।
काठमाडौको महाँकालमा अवस्थित यस अस्पतालमा करिव ११ रोपनी जग्गामा बनेको ९ तले अत्याधुनिक र सुविधासम्पन्न भवन रहेको छ । २०० शैयाको पूर्ण क्षमतामा अर्थो, न्यूरो, स्पाईन, वर्न सर्जरी र प्लाष्टिकसहित सबै किसिमका चोटपटक सम्बन्धी ७७ जिल्लाका दैनिक ३५० जना भन्दा बढी विरामीलाई बहिरंग सेवासहित सरदर २० देखि २५ जना विरामीको शल्यक्रिया गर्दै आएको छ ।
यस सेन्टरमा ११ आईसीयू बेड, ८ वटा एचडियु बेड, ५ मुख्य शल्यक्रिया कक्ष र १ सामान्य शल्यक्रिया कक्ष छन् । यस सेन्टरमा मुख्यतः हाडजोर्नी र ट्रमा इन्जुरीसँग सम्बन्धित बिरामीको अत्याधिक चाप रहेको छ । यस सेन्टरले गरेका शल्यक्रियामध्ये ४८ प्रतिशत जटील शल्यक्रिया हुने गरको छ ।
ट्रमा सेन्टरले गर्ने मुख्य उपचार केके हुन् ?
ट्रमा सेन्टरका मुख्य काममा उपचारात्मक सेवा, दुर्घटना, आगलागी, प्राकृतिक प्रकोप, हतियारले घाइतजस्ता गम्भीर र जटिल घाइतेको उपचार गर्नु, ओर्थोपेडिक्स, न्यूरोसर्जरी, प्लास्टिक सर्जरी, सामान्य सर्जरी, एनेस्थेसियोलोजी, रेडियोलोजीआदि विशेषताका चिकित्सकहरूद्वारा बहु–विषयक उपचार उपलब्ध गराउनु रहेका छन् ।
यस्तै गम्भीर रूपमा घाइते बिरामीहरूको लागि आधुनिक आइसियुको सुविधा प्रदान गर्नु, समयमै जीवनरक्षाका लागि आवश्यक शल्यक्रिया (सर्जरी) गर्नु, शैक्षिक र प्रशिक्षणसम्बन्धी कार्य सञ्चालन गर्नु, स्नातकोत्तर तालिम एमडीका विद्यार्थीहरूलाई विभिन्न विषयहरूमा (जस्तै सर्जरी, ओर्थोपेडिक्स) उच्च शिक्षा र तालिम प्रदान गर्नु यसका मुख्य काम हुन् ।
सेन्टरले यीबाहेक नर्सिङ्ग र प्यारामेडिकल तालिमः नर्स, स्वास्थ्य सहायक, एनेस्थेसिया प्रविधिज्ञआदिलाई ट्रामा केयरमा विशेष तालिम दिने, निरन्तर चिकित्सा शिक्षा र्मचारीहरूको ज्ञान र क्षमता अद्यावधिक गराउने कार्यक्रमहरू आयोजना गर्ने, अनुसन्धान गर्ने, ट्रमासम्बन्धी अनुसन्धानः नेपालमा ट्रमा (घाइते) को कारण, प्रकार, उपचारको विधि, नतिजा आदिको अध्ययन गरी प्रकाशनहरु सार्वजनिक गर्नु, डाटा संग्रह र विश्लेषणः ट्रामा बिरामीहरूको डाटा संग्रह गरेर राष्ट्रिय स्तरमा ट्रामा नियन्त्रणका लागि नीति निर्माणमा सहयोग पुर्याउनुजस्ता अन्य ट्रमासम्बन्धी काम पनि रहेका छन् ।
ट्रमा सेन्टरमा कस्ता कस्ता विरामी आउँछन् ?
यहाँ उपचारमा आउने विरामीमा प्राथमिकताको आधारमा उपचार गरिन्छ । यहाँ आउने बिरामीलाई रातो, पहेंलो, हरियो र कालो गरी चार समूहमा बिभाजन गरिन्छ ।
यस्तै चोटको प्रकृतिको आधारमा बहु–अंग चोट, न्यूरोलोजिकल ट्रामा, मस्कुलोस्केलेटल टा«मा, थोरासिक ट्रामा, एब्डोमिनल ट्रामा र बर्न (पोल्टा) इन्जुरियसलाई पनि आधार मानेर उपचार गरिन्छ ।
अनि चोटको कारणको आधारमा सडक दुर्घटनाबाट घाइते, पदयात्रा दुर्घटना, रुखबाट लड्ने, हिंसात्मक घटनाबाट चोच, खेलकुद दुर्घटना, औद्योगिक दुर्घटना र प्राकृतिक प्रकोपबाट हुने बिरामीको उपचारमा सेन्टरले काम गर्दै आएको छ ।

सेन्टरबाट प्रदान गरिने उपचारको सफलता कस्तो देखिन्छ ?
विरामीको अवस्थाको गम्भिरता,चोट लागेको र सेन्टरमा आइपुग्दाको लाग्ने समय, स्रोत तथा सुविधाहरूको उपलव्धता, रेफरलको अवस्थाआदि कारणले उपचार तथा शल्यकृयाको सफलता तथा विफलतमा प्रभाव पार्ने गर्दछ ।
यस सेन्टरमा विभिन्न अध्ययनहरूले मृत्युदर लगभग २ दशमलव ५ प्रतिशतदेखि ४ प्रतिशतको बीचमा रहेको देखाएको छ । सेन्टरमा भर्ना भएका करिब ९६–९७ प्रतिशत बिरामीहरूले स्वास्थ्य लाभ हासिल गरेको छन् । यो दर गम्भीर ट्रमा उपचारको लागि एक सकारात्मक नतीजा हो भने विकासशील मुलुकहरूमा ट्रमा सेन्टरहरूको मृत्यु दर ५–१० प्रतिशतसम्म हुन सक्नेमा यो तथ्याङ्क नेपालको लागि सन्तोषजनक छ ।
राष्ट्रिय ट्रमा सेन्टरका समस्याहरु के के छन् ?
२०० बेड भएको सेन्टरमा बिरामीको चाप बढी भएकोले बेडको अभाव छ । आधुनिक उपकरण, औषधि तथा अन्य सामाग्री खरिदका लागि बजेट पर्याप्त छैन । विशेषज्ञ चिकित्सकहरु न्यूरोसर्जन, कार्डियोलोजिष्ट, साइकाट्रिक्स, पेडियाट्रिक, अप्थल्मोलोजिष्टहरुको संख्या न्यून/अभाव रहेकोले उपचारमा समस्या भइरहेको छ ।
विरामीहरुको अत्यधिक चाप बढेता पनि आईसीयू वेड विस्तार गर्न सकिएको छैन भने अत्यधिक कार्यभार, अपर्याप्त वेतन र पदोन्नतिको अवसरसीमित रहेको छ । नर्सिग जनशक्ति र कर्मचारीहरुको दरबन्दी पूरा गर्न नसक्दा जनशक्ति अभाव भइरहेको छ ।
स्वास्थ्यकर्मीहरु बिदेश पलायनको प्रवृत्ति बढ्दो दरमा छ । देशभरि राम्रो रेफरल प्रणाली नभएकोले साना अस्पतालबाट गम्भीर बिरामीहरू मात्रै होइन, साधारण अवस्था भएका बिरामीहरू पनि सेन्टरमा आइपुग्ने भएको चाप वढ्दै गएको देखिन्छ । विमा दावी भुक्तानी समयमा नहुदाँ आवश्यक सामाग्री खरिद तथा जनशक्ति व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको हामीले महसुस गर्दै आएका छौ ।
ट्रमा सेन्टरको प्रभावकारिता अभिबृद्धिका लागि अव के गरिनु पर्छ ?
हालको २००–२५० बेडलाई कम्तीमा ५०० बेडसम्म विस्तार गर्ने, डिजिटल एक्स–रे, एड्भान्स्ड आईसीयू भेन्टिलेटर, र आधुनिक ओपरेशन थियेटरहरू थप्ने, उपकरणको नियमित मर्मतसम्भारको लागि विशेष बजेट र इकाइ गठन गर्ने, विशेषज्ञहरुलाई आकर्षक सुविधा दिएर उनीहरुबाट राम्रो सेवा लिन सक्नेगरी स्रोत र साधनको व्यवस्थापन गरिनु पर्छ ।
डाक्टर र नर्सहरूलाई अन्तर्राष्ट्रिय तालिमको लागि पठाउने, बिरामीको सम्पूर्ण जानकारी, रेकर्ड, रेफरलर औषघि खरिद डिजिटल प्रणालीमा सार्ने, आईसीयू र वार्डमा रियल–टाइम मोनिटरिङ सिस्टम स्थापना गर्ने, केन्द्रीकृत ट्राइएज प्रणालीका अधारमा छुट्टाछुट्टै श्रेणीमा वर्गीकरण गर्ने र उपचार सुरु गर्ने, गम्भीर घाइते बिरामीका लागि सिधा ओपरेशन थियेटर देशभरिका अस्पतालहरूसँगको रेफरल प्रणालीलाई मजबूत बनाउने, जसअनुसार गम्भीर बिरामी ात्र यहाँ पठाइने, दुर्घटना रोकथामका लागि नगर, स्कुल, कलेजहरूमा जनचेतना कार्यक्रम चलाउने, अनुसन्धान र डाटा व्यवस्थापनमा जोड दिने, सरकारी स्वास्थ्य बीमा लागू गरी सेन्टरले बीमा कम्पनीबाट राजस्व प्राप्त गर्ने प्रणाली बनाउनेजस्ता काम तत्काल गरिनु पर्ने हाम्रो बुझाइ छ ।
यी र यस्ता थप सेवा प्रभावकारी बनाउन प्रमुख मेडिकल सुपरिन्टेण्डेण्टको पदमा रही कार्य गर्दा के के गर्नु भयो ?
जेनजेड आन्दोलनमा घाइते भएकाहरुको सफल उपचार, इन्डोस्कोपी स्पाइन सर्जरीको शुरुवात,Psychiatry/Psychosocial Counselling, Report Vending Machine मार्फत Report लिने कार्यको थालनी, Ct Scan tyf MRI सेवा विस्तार गर्न लागिएको छ । Rehabilition Center स्थापना तथा संचालनको लागि प्रयास भइरहेको छ भने बोन तथा टिस्यु बैंकको अवधारणा प्रकाश गर्दै यसै सेन्टरमा स्थापना गर्न प्रयासरत र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा शैक्षिक तथा अनुसन्धानात्मक कार्यक्रमहरुको संचालन भइरहेका छन् ।
बिरामीको हित र फाइदा हुने प्रकारका अन्य केही गर्नु पर्ने जनस्तरबाट सुझावहरु आएमा सेन्टरले त्यस्ता राम्रा कामका लागि पनि योजना बनाएर अघि बढ्न सक्ने हाम्रो सोच रहेको छ ।
प्रतिक्रिया दिनुहोस्