काँग्रेस महामन्त्रीद्वयको पक्षमा खुले संखुवासभाका युवा नेता चौहान

नेपालि काँग्रेस सङ्खुवासभाका युवा नेता उमेस चौहान बिशेष महाधिवेशनको पक्षमा उभिएका छन् । पूर्व क्षेत्रीय सभापति तथा महासमिति सदस्यसमेत रहेका चौहान कांग्रेस विभिन्न पक्ष र विचारमा बाँडिएका बेला आफ्नो बिचार प्रष्ट पारेका हुन् । कोही नियमित महाधिवेशन र कोही चुनावपछि महाधिवेशनलगायत विभिन्न विचार र समूहमा कांग्रेस बाँडिएको बेला साँच्चिकै कांग्रेस बचाउने हो भने विशेष महाधिवेशन गर्नु पर्ने भन्दै युवा नेता चौहान खम्बा बनेर उभिएका छन् ।

काठमाडौंस्थित अर्पणा बैङकेटमा कांग्रेसको विशेष महाधिवेशनको सन्दर्भमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै चौहानले कांग्रेस बचाउने हो भने विशेष महाधिवेशन गर्नुपर्ने बताए । उनले भने, ‘अहिलेको सन्दर्भमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रस्ताव सबैले स्वीकारेर विशेष महाधिवेशनमा जानुपर्छ । जनजन कांग्रेस, मनमनमा कांग्रेस बनाउन महामन्त्रीद्वयको पक्षमा सबै उभिनुपर्छ । कांग्रेस एकढिक्का हुने समय आएको छ । संखुवासभाको कांग्रेस ८५ प्रतिशत विशेष महाधिवेशनको पक्षमा रहेको छ ।’

नेपाली कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको माग राखेर देशभर अभियान चलाई रहेका छन् । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि कांग्रेस रूपान्तरण र पुस्तान्तरणको मुद्धा उठाउँदै कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएर अभियान चलाएका हुन् । चौहान नेपाली काँग्रेस सङ्खुवासभाका प्रभावशालि युवा नेताका रुपमा परिचित हुन् ।